काठमाडौं, पुस ७
सरकारले काठमाडौं–तराई मधेस दु्रत मार्ग निर्माणको पूर्वाधार अध्ययनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ ।
सो मार्ग नेपाल सरकार आफैंले बनाउने यसअघि घोषणा भएकामा आजको मन्त्रिपरिषद्को बैठकले भारतीय कम्पनीले यसअघि बनाएको विस्तृत परियोजना प्रतिवेदनलाई उपयोग गर्न सकिने/नसकिने, वित्तीय स्रोत व्यवस्थापन कसरी खोजी गर्ने भन्नेबारेमा एक महिनाभित्र सो कार्यदलबाट सुझाव लिने निर्णय गरेको हो ।
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले द्रुत मार्ग बनाउन आम नागरिकसँग आह्वान गरी रकम सङ्कलन वा सरकारका कुनै संस्थाका रकम खर्च गर्ने भन्नेबारेमा कार्यदलले सुझाव दिने जानकारी दिए।
प्रदेश निजामती सेवा विधेयक ल्याइने
बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त विधेयक तयार गर्न सैद्धान्तिक सहमति दिएको छ । ‘प्रदेशमा कर्मचारीतन्त्र कस्तो हुन्छ भन्ने सम्बन्धमा यो विधेयक महत्वपूर्ण सावित हुनेछ,’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भने।
संविधान प्रदत्त बाटोबाट निकास
बैठकमा समसामयिक राजनीतिका विषयमा पनि छलफल भएको बताउँदै मन्त्री कार्कीले संविधान संशोधन विधेयक के हुन्छ भन्ने प्रश्नमा ‘सरकार संविधान प्रदत्त बाटोबाट अघि बढ्न चाहने’ जनाए।
इञ्जिनियरसँग वार्ता हुने
भूकम्पपछिको पुनःनिर्माणमा खटिएका प्राविधिक इञ्जिनियहरुले सेवा सुविधा कम भएको जनाउँदै दिएको सामूहिक राजीनामाबारे सरकारले वार्ता गरेर समस्या समाधान गर्ने उनले जानकारी दिए।
खेलाडीलाई पुरस्कार
बैठकले राष्ट्रिय फुटबल टिमलाई कुल रु ७५ लाखबाट पुरस्कृत गर्ने निर्णय गरेको छ ।
शुक्लाफाँट निकुञ्जमा रुपान्तरण
शुक्लाफाँट वन्यजन्तु आरक्षलाई स्तरोन्नति गरी राष्ट्रिय निकुञ्जमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।
यसैगरी शान्ति कोष स्थापना र कृत्रिम अङ्ग प्रदानसम्बन्धी व्यवस्थापनका लागि एक अलग्गै स्वास्थ्य संस्था स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ।
नियुक्ति
यस्तै नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा रोबसकुसुम सुवेदी र काठमाडौँ उपत्यका विकास प्राधिकरणको पुनरावेदन समितिको अध्यक्षमा प्रमोदकुमार वैद्यलाई नियुक्त गरिएको छ ।
No comments:
Post a Comment