Thursday, August 31, 2017

अदालतको आदेशानुसार ऐन संशोधन गर्न माग

काठमाडौँ, १५ भदौ । एम्नेस्टी इन्टरनेशनल नेपालले सर्वोच्च अदालतको आदेशबमोजिम संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न सरकारसँग माग गरेको छ । 

अन्तर्राष्ट्रिय बलपूर्वक बेपत्ता दिवसका सन्दर्भमा बुधबार जारी प्रेस विज्ञप्तिमा कार्यकाल सकिन पाँच महिना मात्र बाँकी रहँदासमेत सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगले सत्यतथ्य पत्ता लगाउन नसकेको उल्लेख छ । 

त्यसैगरी, अन्तर्राष्ट्रिय न्यायिक आयोग (आइसीजे) ले पनि बलपूर्वक बेपत्ता पार्नेलाई अपराधको दायरामा ल्याउन दक्षिण एसिया असफल भएको जनाएको छ । 

आयोगले बलपूर्वक बेपत्ता पार्नेलाई अपराधको घेराभित्र ल्याउनुपर्ने र बेपत्ता व्यक्तिको अवस्था सार्वजनिक गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । रासस 

स्क्रब टाइफसबाट थप एकको मृत्यु, १३३ जना संक्रमित

रत्ननगर (चितवन), १५ भदौ । चितवनमा स्क्रब टाइफसबाट थप एकजनाको मृत्यु भएको पुष्टि भएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले बुधबार जानकारी दिए अनुसार नवलपरासी घर भई चितवनको भरतपुरस्थित सेन्ट्रल अस्पतालमा उपचारका क्रममा २१ वर्षीया महिलाको मृत्यु भएको पुष्टि भएको हो । 

उक्त अस्पतालबाट प्राप्त प्रतिवेदनबारे जानकारी दिँदै कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले साउन ९ गते उपचारका लागि अस्पताल ल्याइएकी उनको भदौ १० गते मृत्यु भएको जानकारी गराउनुभयो । 

योसँगै जिल्लामा साउन यता स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । दुवै मृतक नवलपरासी घर भई चितवनमा उपचार गरिएका महिला हुन् । 

यसअघि नवलपरासी रजहरकी २४ वर्षीया एक महिलाको साउन २२ गते उपचार कै क्रममा नारायणी सामुदायिक अस्पतालमा मृत्यु भएको थियो । 

जिल्लामा चालु आवमा ४९७ जनाको परीक्षणमा १३३ जनामा स्क्रब टाइफस रोग पाइएको जनस्वास्थ्य कार्यालय, चितवनले जनाएको छ । 

भरतपुर अस्पतालमा ४०, बकुलहर रत्ननगर अस्पतालमा चार, चितवन मेडिकल कलेजमा ३१, नारायणी सामुदायिक अस्पतालमा ४२, मनकामना अस्पतालमा दुई, सेन्ट्रल अस्पतालमा एक तथा निजी ल्याबमा १३ जनामा टाइफस रोग देखिएको कार्यालयले जनाएको छ । तीमध्ये दुईजनाको मृत्यु भएको छ । 

माइट नामको एक प्रकारको सुक्ष्म किराले टोकेमा स्क्रब टाइफस सर्छ । यो रोग मुसाको कानमा बस्ने गर्छ । यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर पनि दुख्ने हुन्छ । 

यसरी ज्वरो आउने बित्तिकै चिकित्सकको निगरानीमा औषधि लिन चिकित्सकले आग्रह गरेका छन् । जिल्लामा परीक्षणका लागि सरकारबाट कीटसमेत आइसकेको कार्यालयले जनाएको छ । रासस 

झापामा पाँच निर्वाचन क्षेत्र

बनियानी (झापा), १५ भदौ । निर्वाचन क्षेत्र निर्धारण आयोगले झापामा पाँचवटा निर्वाचन क्षेत्र तोकेको छ । 

जनसंख्यालाई मुख्य आधार बनाएर प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि क्षेत्र निर्धारण गरिएको हो । झापामा मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिकाको वडा नं ४, ५, ६, ७ र भद्रपुर नगरपालिकाको वडा नं ९ र १० लाई समेटेर क्षेत्र नम्बर १ बनाइएको छ । 

त्यस्तै, बुद्धशान्ति गाउँपालिकाको वडा नं १, २, ३, अर्जुनधारा नगरपालिका र कनकाई नगरपालिकाको ८ र ९ नं वडालाई मिलाएर क्षेत्र नम्बर २, भद्रपुर नगरपालिकाको वडा नम्बर १ देखि ८ सम्म, कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिका, हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिका वडा नं १० लाई समेटेर क्षेत्र नं ३ बनाइएको छ । 

कनकाई नगरपालिकाको वडा नं १ देखि ७ सम्म, झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका, गौरीगञ्ज गाउँपालिका वडा नं १, २ र गौरादह नगरपालिकाको ९ नम्बर वडालाई समेटेर क्षेत्र नम्बर ४ र दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह वडा नं १ देखि ८ सम्म र गौरीगञ्जको वडा नं ३, ४, ५, ६ मिलाएर क्षेत्र नम्बर ५ बनाइएको छ । रासस 

कपिलवस्तुमा सर्पदंश बिरामीको चाप, ४०० को उपचार

जितपुर (कपिलवस्तु), १५ भदौ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेमा रहेको कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा सर्पले डसेका बिरामीको चाप बढेको छ । 

नेपाली सेनाको नारायणदल गणको प्राविधिक र बुद्धभूमि नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित यस उपचार केन्द्रमा भदौ दोस्रो साता आइपुग्दासमेत सर्पले डसेका बिरामीको चाप अझै उस्तै छ । 

यस उपचार केन्द्रमा यही असारदेखि भदौ १४ गतेसम्म ४०० जना सर्पले डसेका बिरामीको उपचार गरिएको कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिंगेका सचिव नवीन भण्डारीले जानकारी दिनुभयो । 

जिल्लाका ३०१, दाङका १५, रोल्पाका २०, अर्घाखाँचीका ३५, प्युठानका १५, र रुपन्देहीका १४ जना सर्पले डसेका बिरामीको उपचार गरिएको सचिव भण्डारीले बताउनुभयो । 

अहिले पनि दैनिक १० भन्दा बढी बिरामी आउने गरेको यस उपचार केन्द्रमा असार महिनामा मात्र ११५ जना भन्दा बढी बिरामीको उपचार गरिएको थियो । 

समयमै उपचार नपाउँदा अहिलेसम्म दुईजनाको मृत्यु भएको छ । विषालु सर्पले डसेका बिरामीको संख्यामा भने कमी आएको बताइएको छ । अरु बिरामीको तुलनामा महिला बिरामी बढी आउने गरेको भण्डारीले जानकारी दिनुभयो । 

सर्पले डस्ने बित्तिकै झारफुक गर्ने, डसेको ठाउँमा बिलेटले चिर्नेलगायतका कार्य नगरी तुरुन्त अस्पताल आउन उहाँले आग्रह गर्नुभयो । 

दश वर्षअघि स्थापना भएको यो उपचार केन्द्रलाई जिल्लाकै उत्कृष्ट केन्द्रका रुपमा लिने गरिएको छ । रासस 

सीप सिकेर आत्मनिर्भर बन्दै रामपुरका महिला

रामपुर (पाल्पा), १५ भदौ । सधँै घरायसी काम धन्दामा मात्र सीमित रहने महिला सीप सिकेर आत्मनिर्भर बन्दै गएका छन् । 

दुई चार पैसाका लागि पनि परनिर्भर रहँदै आएका रामपुरका महिला हिजोआज विभिन्न सीप सिकेर स्वालबम्वी बन्दै गएका हुन् । सिलाइकटाइ, ब्युटिपार्लर, गुडिया बनाउनेलगायतका विभिन्न सीपले आत्मनिर्भर बनाएको छ । 

दाम पनि हुने र फुर्सदको समय सदुपयोग हुने भएपछि उनीहरुले सिलाइकटाइ, ब्युटिपार्लर, गुडिया बनाउने पेशा अंगालेका छन् । यस व्यवसायमा फुर्सदिला, अन्य व्यवसाय, शिक्षण संस्थामा कमै आबद्ध भएका महिला संलग्न छन् । 

विगत दश वर्षदेखि रामपुरको बेझाड बजारमा ब्युटिपार्लर सञ्चालन गर्दै आउनुभएकी सुलोमी ब्युटी पार्लरकी सुष्मा रानाले यस व्यवसायबाट राम्रो कमाइ गर्न सफल हुनुभएको छ । उहाँले दुईसय भन्दा बढी महिलालाई ब्युटिपार्लरसम्बन्धी तालिम दिइसक्नुभएको छ । 

शुरुमा रु २० हजारबाट व्यवसाय थाल्नुभएकी रानाको पसलमा अहिले दिनहुँ थु्रपै ग्राहकको भीड लाग्ने गर्दछ । राना भन्नुहुन्छ, “यस व्यवसायले महिलालाई काम पनि पुग्ने र आयआर्जन पनि बढाउने गरेको छ ।” यही व्यवसायबाट मासिक रुपमा रु ६० हजारभन्दा बढी आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । 

चारु रानालाई पनि यस व्यवसायबाट दाम मात्र नभई फुर्सदको समय सदुपयोग भएको बताउनुहुन्छ । हातमा सीप भयो भने महिलालाई परनिर्भरमा सीमित रहन नपर्ने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ “पढेर पनि जागिर पाइँदैन, हातमा सीप भयो भने त आत्मनिर्भर बन्न सकिने रहेछ ।” “व्यवसाय थालेको तीन वर्ष भयो कमाइ पनि राम्रै छ” उहाँले भन्नुभयो । 

लामो समयसम्म टेलर्सको काम गर्दै आउनुभएकी रामपुरकी तुल्सी खनाललाई यतिबेला काममा भ्याइनभ्याइ छ । उहाँ यस क्षेत्रकै टेलर्सको काममा अग्रपंक्तिमा चिनिनुहुन्छ । एकवटा मेशिनबाट व्यवसाय शुरु गर्नुभएकी खनालले अहिले घर जग्गा जोडिसक्नुभएको छ । उहाँ भन्नुहुन्छ, “काम राम्रो भयो भने व्यवसाय बढ्ने हो ।” काम गर्दै जाँदा सीप विकास बढ्दै जाने उहाँको अनुभव छ । 

अर्की महिला जुबिदा अन्जुमलाई पनि सिलाइकटाइले आत्मनिर्भर बनाएको छ । विगत सात वर्षदेखि व्यवसाय गर्नुभएकी अन्जुमले तीन जनालाई रोजगार दिँदै आउनुभएको छ । 

आफ्नै हातमा सीप छ भने एक महिनामा सजिलैसँग रु ५० हजारभन्दा बढी आम्दानी हुने उहाँले बताउनुभयो । दैनिकरुपमा राम्रो कमाइ गर्नसक्ने भएपछि धेरै महिलाले आम्दानीको स्रोत बढाउँदै गएका छन् । 

रामपुरको बजार क्षेत्रमा मात्रै ५० जनाभन्दा बढी महिला सिलाइकटाइ र दुई दर्जनभन्दा बढी महिला ब्युटिपार्लर व्यवसायमा संलग्न छन् । रासस 

मोटरसाइकलबाट खसेर एकको मृत्यु

बनेपा, १५ भदौ । काभ्रेपलाञ्चोकको पाँचखाल–२ बाट बिरामी भएका कारण उपचारका लागि अस्पताल ल्याइँदै गरेका एकजनाको मोटरसाइकलबाट खसेर गएराति मृत्यु भएको छ । 

बा ८ प ५७४७ नम्बरको मोटरसाइकल अनियन्त्रित हँुदा खसेर धुलिखेलस्थित अस्पतालचोकमा गम्भीर घाइते भएका ५३ वर्षीय भुलुङ तामाङको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिनुभयो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । 

मोटरसाइकलमा सवार थप दुईजना आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस 

नारायणगढ—मुग्लिन सडक पहिरोले अवरुद्ध


चितवन, १५ भदौ । नारायणगढ—मुग्लिन सडकखण्डका पाँच ठाउँमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार जलबिरेमा दुई स्थानमा, कालीखोला, चारकिलो र पाँचकिलोमा एक÷एक स्थानमा पहिरो खसेको छ । 

चारकिलोमा ठूलो पहिरो रहेता पनि अन्यत्र साना पहिरो रहेको उहाँले बताउनुभयो । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेकाले थप पहिरो नखसेमा केही घण्टामा आवागमन सञ्चालनमा आउने थापाले बताउनुभयो । 

पहिरोको जोखिमका कारण रातको समयमा सो सडकमा सवारी आवागमन रोकिँदै आएको छ । आज बिहान ३ः३० बजेको हाराहारीमा ती ठाउँमा पहिरो खसेको प्रहरीको अनुमान छ । रासस 

बेपत्ता किशोरी अझै फेला परिनन्

बैतडी, १५ भदौ । चमेलिया नदीमा बेपत्ता भएकी एक किशोरी नौदिनसम्म पनि फेला पर्न सकेकी छैनन् । 

भदौ ७ गते बिहान ८ बजेतिर बैतडीको डिलाशैनी गाउँपालिका वडा नं २ कँडै बस्ने १७ वर्षीया सुनिता दमाईं चमेलिया नदीमा बेपत्ता भएकी हुन् । 

घरबाट पसल खोल्न जान्छु भनेर हिँडेकी सुनिता एक्कासि चमेलिया नदीमा बेपत्ता भएको खबर आएको थियो । बेपत्ता किशोरीको खोजी कार्य जारी रहेको भएपनि हालसम्म फेला नपरेकी जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ । रासस 

नवलपरासीका बाढी प्रभावितलाई राहत

नवलपरासी, १५ भदौ । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका—१ स्थित रमपुरवा गाउँका बाढी प्रभावित समुदायलाई मंगलबार राहतस्वरुप खाद्यान्न सामग्री वितरण गरिएको छ । 

पूर्व गृहराज्यमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य देवेन्द्र राज कँडेलको पहलमा गोंगबु आवास क्षेत्र दिदीबहिनी समूहद्वारा ती बाढीपीडित परिवारलाई नेता कँडेलको निवासमै राहतस्वरुप खाद्यान्न र लत्ताकपडा वितरण गरिएको हो । 

पाल्हीनन्दन गाउँपालिकाको वडा नं १ नेता कँडेलको आफ्नै वडा भएका कारण नेता कँडेलले बाढीपीडित घरपरिवारका लागि काठमाडौँमा राहत संकलनमा जुट्नुभएको थियो । 

वितरण गरिएको राहत सामग्रीमा चामल, दाल, खानेतेल, एक पोका नुन, एक जोडी चप्पल, र लत्ताकपडा रहेको नेता कँडेलले जानकारी दिनुभयो । 

नेता कँडेलले आफ्नो पहलमा पाल्हीनन्दन, सरावल र प्रतापपुर गाउँपालिकामा गरी एक हजार ६२३ घरपरिवारलाई राहत वितरण गरिसकेको जानकारी दिनुभयो । रासस 

सवारी दुर्घटनामा टिपर चालकको मृत्यु

पोखरा, १५ भदौ । पोखरा–लेखनाथ महानगरपालिका–२६ सुन्दरबजारस्थित पृथ्वी राजमार्गमा बुधबार साँझ मिनि टिपर र ट्रक एकआपसमा ठोक्किँदा टिपर चालकको मृत्यु भएको छ । 

पोखराबाट तालचोकतर्पm गइरहेको ग १ ख ३६०९ नम्बरको मिनि टिपर र विपरीत दिशाबाट पोखरातर्पm आइरहेको ना ६ ख २३८० नम्बरको ट्रक एकापसमा ठक्कर खाँदा टिपर चालक ५० वर्षीय शेषकान्त अधिकारी सख्त घाइते भएका र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा रातिनै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । 

स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिका–६ गोथेडाँडा घर भई पोखरा लेखनाथ–७ जिरो किलोमिटरमा डेरा गरी बस्ने मृतक अधिकारीले सडकमा परेको खाल्टो छल्न खोज्दा टिपर ट्रकसँग ठोक्किन पुगेको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ । रासस 

बिरामीलाई गाउँमा पानी दिनेसम्म मान्छे भएन

जाजरकोट, १५ भदौ । जाजरकोटका अधिकांश ग्रामीण क्षेत्रमा भाइरलका कारण सयौँ बिरामी परेका छन् । बिरामीलाई पानी दिनेसम्म स्थानीय नभएको सम्बन्धित नगरपालिका र गाउँपालिकाका अध्यक्षले बताएका छन् । 

तत्काल स्वास्थ्य शिविर नचलाएमा महामारीको रुपमा रहेको भाइरलले स्थानीयको मृत्यु हुनसक्ने त्रिवेणी नलगाड नपा वडा–५ का वडा अध्यक्ष सुदीप शर्माले बताउनुभयो । गाउँमा एकै घरमा चारभन्दा बढी बिरामी छन्, पानी दिनेसम्म मानिस छैन, उहाँले रासससँग टेलिफोनमा भन्नुभयो । स्वास्थ्य कार्यालयमा छिटो बिरामीको उपचार गर्न स्वास्थ्यकर्मी परिचालन हुन आग्रह गरिएको र जिल्लामा प्रहरीमार्फत खबर गरिएको उहाँले बताउनुभयो । 

यता यहाँका सबै स्वास्थ्य संस्थामा दैनिक ६० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । बिरामीको संख्या बढेपछि स्वास्थ्य संस्थामा उपचार गर्न नै मुस्किल भएको इलाका स्वास्थ्य चौकी, दल्लीले बताएको छ । 

जिल्लाका दूरदराजमा रहेर जनताको पहँुचमा स्वास्थ्य संस्था नहुँदा सर्वसाधारण मेडिकलमा हजाराँै रकम खर्चेर अन्धाधुन्ध उपचार गर्न बाध्य भएको त्रिवेणी नलगाड नवा–५ का कर्णबहादुर खत्रीले बताउनुभयो । 

वर्षायाममा जथाभावी फुटेका मूलबाट ल्याइएको पानी पिउँदा र खाना राम्रोसँग पकाएर नखाँदा समस्या आएको डाक्टरले बताएका छन् । बिरामीको भीड बढेपछि डाडागाउँको स्वास्थ्य संस्थामा औषधि नै सकिएको छ । चार दिनदेखि स्लाइन पानी सकिएको भएपनि जिल्ला जाने मानिस नहुँदा मागको पूर्ति हुन सकेको छैन । 

बारेकोट गाउँपालिकाका सबै वडाका प्रत्येक घरमा भाइरलका बिरामी रहेको स्थानीय शिक्षक कालीप्रसाद थापाले बताउनुभयो । यही ठाउँमा छ दिनअघि दुई नाबालकको मृत्यु भएको थियो । स्वास्थ्य संस्था टाढा हुँदा उपचारका लागि बिरामी ल्याउन नसक्दा समस्या थपिएको जिरीका प्रेम सिंहले बताउनुभयो । 

त्यस्तै, यता पूर्वको रग्दा र भगवतीका दुर्गम गाउँमा भाइरलकै प्रकोपले सयौँ गाउँले घरमै थला परेको स्थानीय तेजबहादुर विकले बताउनुभयो । कुनै घर पनि बिरामी नभएको छैन, कसलाई उपचार गर्नु, काल आए मरिन्छ, उहाँले भन्नुभयो । स्वास्थ्य संस्था टाढा छ, स्थानीय मेडिकलमा औषधि महँगोमा बिक्री हुने गर्छ, उहाँले थप्नुभयो । बालबालिका र वृद्ध बढी बिरामी भएको स्थानीयको भनाइ छ । 

गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्न स्थानीयले माग गरे पनि जिल्ला स्वास्थ्य कार्यालयले कुनै पहल नगरेको स्थानीयको आरोप छ । पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा सही समयमा बिरामीले उपचार नपाएको स्थानीयको आरोप छ । 

वर्षायाममा खोला बढेका र बाटाहरु भत्किएका कारण भनेको समयमा एक्लै जान सकिँदैन, अर्काे गाउँ दहका काशी पुनले रासससँग बताउनुभयो । फोनसेवासमेत अवरुद्ध भएका कारण गाउँमा के भएको छ भन्नेसम्म जानकारी आउन नसकेको बारेकोटका नरबहादुर गिरीले बताउनुभयो । 

स्वास्थ्य संस्थामा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा उपचारमा थप समस्या आएको छ । भगवती स्वास्थ्य चौकीमा छ महिनादेखि तीनवटा दरबन्दी खाली छ । त्यस्तै, नायकवाडा स्वास्थ्य चौकीमा दरबन्दीअनुसारको स्वास्थ्यकर्मी नभएको पाइएको छ । बिरामी भएको गाउँमा औषधि लिएर स्वास्थ्यकर्मी जाँदा स्वास्थ्य संस्था खाली हुने भएकाले गाउँमा जान नसकेको इलाका स्वास्थ्य कार्यालय, दल्लीले बताएको छ । 

विद्यालयमा आएका विद्यार्थीसमेत बिरामी हुँदै विद्यालयबाटै बोकेर अस्पताल लानुपर्ने बाध्यता आएको शिक्षक बताउँछन् । खाना र पानीमा ध्यान नदिँदा धेरै समस्या आएको जाजरकोट अस्पतालका डा भूपेन्द्र मल्लले बताउनुभयो । रासस