दक्षिणी सुडानमा शान्ति मिसनमा खटिएका नेपाली सेनामाथि राष्ट्रसंघकै कम्पाउण्डभित्र लुटपाट रोक्न नसकेको आरोप लागेको छ ।
राष्ट्रसंघीय मिसनले जुलाई ८ देखि ११ सम्म राजधानी जुवामा भएको हिंसाविरुद्ध उचित कदम चाल्न नसकेको राष्ट्रसंघकै अध्ययनले देखाएको हो ।
राष्ट्रपति साल्भाकिर र विद्रोही नेता रिएक मचारको समूहबीच हेलिकोप्टर र ट्यांकको प्रयोग गरेर झडप भएको थियो । त्यसक्रममा शान्ति सैनिकहरुले त्यहाँका सार्वसाधारणको जिउधनको सुरक्षा गर्न नसकेको आरोप लागेपछि राष्ट्रसंघका महासचिव वान कि मुनले अनुसन्धान गर्न लगाएका थिए ।
अनुसन्धान रिपोर्टले शान्ति सैनिकहरुको कमजोरी देखाएपछि राष्ट्रसंघका महासचिव वानले दक्षिण सुडानका कमाण्डर केन्याका मोगोवा किमानी ओन्डिएकीलाई पदमुक्त गरेका छन् ।
रिपोर्टमा भनिएको छ, ‘मानवीय सहायताका लागि गएकाहरु हमलामा पर्दा शान्ति स्थापकहरुले उचित सुरक्षा दिन सकेनन् ।’
चिनियाँ सैनिकहरुले कम्तिमा दुईपटक आफ्नो पोजिसन छाडेर गए भने नेपालीहरुले राट्रसंघकै कम्पाउण्डभित्र भएको लुटपाट रोक्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।
२०१३ देखि गृहयुद्धमा फसेको दक्षिणी सुडानमा ‘युनाइटेड मिसन इन साउथ सुडान’ अन्तरगत १६ हजार शान्ति सैनिक तैनाथ छन् ।
हल्याण्डका जनरल प्याटि्रक क्यामाएटले गरेको अनुसन्धानमा हिंसाका क्रममा सरकारी सेनाले मानवअधिकार उल्लंघन, हत्या तथा यौन हिंसा गरेको देखाएको छ ।
तर, त्यसबेला शान्ति स्थापकहरुलाई पैदल गस्ती गर्न आग्रह गर्दा समेत अस्वीकार गरेको पाइएको छ ।
सुरक्षा परिषदको आगामी १७ नोभेम्बरमा बस्ने बैठकमा दक्षिण सुडानबारे छलफल हुने बताइएको छ । राष्ट्रसंघ सुरक्षा परिषदका लागि बेलायती राजदूत म्याथु राइक्रफ्टले यो प्रतिवेदनले सुडानमा भयावह स्थिति देखाएको भन्दै राष्ट्रसंघ र सुरक्षा परिषदले यसबाट पाठ सिक्नुपर्ने बताएका छन् ।
No comments:
Post a Comment