Sunday, September 4, 2016
‘नेताहरुले हँसाउँदा जनता रोइरहेछन्’
केपीहरूमा हास्यचेत बढी छ । नम्बर एक, कृष्णप्रसाद भट्टराई । नम्बर दुई, खड्गप्रसाद शर्मा ओली । दुवै केपी ।
तस्विर: केशव थापा
- विमल आचार्य
हरिवंश आचार्य, ५८, ले आजभन्दा ३९ वर्ष पहिले ०३४ सालमा गाईजात्राका अवसरमा आधुनिक श्राद्ध नामक प्रहसन गरेका थिए, तत्कालीन नेपाल–प्रज्ञा प्रतिष्ठानमा । गाईजात्राको सेरो फेरोमा हास्यव्यंग्य कलाकारिताबारे उनीसँग गरिएको कुराकानी :
गाईजात्रा आयो, कोसेली के छ ?
यसपालि हाम्रो कोसेली शून्य छ ।
किन छोड्नुभयो ?
पारिवारिक कारणले । बूढ्यौलीले ।
नेताहरूले सधैँ हँसाउने भएर चुप लाग्नुभएको हो ?
अलिकति यो पनि हो । तर, हाम्रा नेताहरूले हँसाउँदा जनता रोइरहेछन् ।
कुन नेतामा हास्यचेत बढी छ ?
केपीहरूमा बढी छ । नम्बर एक, कृष्णप्रसाद भट्टराई । नम्बर दुई, खड्गप्रसाद शर्मा ओली । दुवै केपी ।
पर्दा–स्टेजमा हास्यव्यंग्यको स्तर कस्तो छ ?
राम्रो–नराम्रो दुवै बराबर ।
कमजोरी के छ ?
अश्लीलताले प्रश्रय पाइरहेको छ । द्वैअर्थी भाषा बढी छ । गम्भीरता कम छ । केही कलाकारमा समाज, संस्कृति, इतिहास चेतना पनि कम छ कि !
बौद्धिक दर्शक/श्रोताको मन तान्न सकेको छैन नि ?
गाईजात्रा कार्यक्रमको पास पठाइदियो भने हेर्न आउँछन् बौद्धिकहरू । पैसा तिरेर हेर्न परे आउँदैनन् । कलाकारिता दिमागभन्दा बढी भावना र आमनागरिकको सरोकार र चासोको कुरा हो ।
‘भोट माग्न आउने फटाहा नेतालाई चुरापोते लगाइदिनूस्’ भनेर गाईजात्रा कार्यक्रमको प्रोमो बजाइन्छ यहाँ । कलाकारको चेतनास्तर ?
जवाफ दिइसकेँ मैले ।
एनजीओ/आईएनजीओका एजेन्डा धेरै घुसाउँदा तपाईंहरूको कलाकारिता कमजोर भएजस्तो लाग्दैन ?
यसमा केही सत्यता पनि छ । वातावरणीय, स्वास्थ्यजस्ता कुरामा चेतना त चाहिएकै छ नि ! ३० हजार रुपियाँले अब कहाँ बन्छ टेलिशृंखला ? कलाकार बाँच्नु पनि त पर्यो ।
हास्यव्यंग्य छुट्टै विधाभन्दा पनि हरेकमा मिसिएर आउने पनि त हो नि ?
हो । अहिले संसद्, दल, फिल्म, पार्क, पत्रिकाका लेख, पुस्तक सबैमा हास्यव्यंग्य छ । यो राम्रो हो ।
तपाईं आफैँले आफैँलाई बारम्बार सोध्ने प्रश्न के हो ?
तँ भाग्यमानी कि अभागी ?
उत्तर के त ?
फिप्टी–फिप्टी । कहिले मजति भाग्यमानी कोही छैन जस्तो लाग्छ । कहिले मजति अभागी कोही छैन जस्तो लाग्छ ।
कस्ता प्रश्नको उत्तर दिन नपरे हुन्थ्यो जस्तो लाग्छ ?
कलाकारिता कसरी सुरु गर्नुभयो ? जोडी कसरी बन्यो ? कलाकार नभएको भए के बन्नुहुन्थ्यो ? प्रेरणा कसबाट पाउनुभयो ? यस्ता प्रश्नका उत्तर दिँदादिँदा बूढो भइसकेँ ।
कसलाई के प्रश्न सोध्न मन छ ?
प्राकृतिक, मानवीय, जैविक सबै रूपले यति सम्पन्न र समृद्ध सुन्दर देश तैँले किन बिगारिस् भनेर वरिष्ठ नेता हरिवंश आचार्यलाई प्रश्न सोध्न मन छ ।
आफूले गरेका मध्ये अब त गर्न सक्दिनँ कि जस्तो लाग्ने अभिनय ?
जसरी मान्छे दुईपल्ट जन्मिँदैन, अभिनय पनि फेरि उही हुँदैन । अभिनय जीवन हो । यसको प्राण हुन्छ ।
प्रकाशित: भाद्र ३, २०७३
Subscribe to:
Posts (Atom)