टिचिङ अस्पतालको अनसनरत कोठामा डा. केसी र वार्ताटोलीबीच सम्झौताको मस्यौदामाथि छलफल जारी छ। अनसनरत केसीले यो सहमति स्वीकार गरेपछि सरकारी पक्षसँग आइतबारै सम्झौता हस्ताक्षर हुन सक्ने स्रोतले बतायो। स्रोतका अनुसार डा. केसीका अन्य मागमा पनि लगभग सहमति जुटेको छ।
डा. गोविन्द केसी र सरकारी पक्षबीचको वार्ता भाँड्दै आएको मनमोहन कलेजको मुद्दा सल्टिएपछि आइतबार सम्झौताको मस्यौदा तयार भएको हो। आठौं अनसनको आज १५ औं दिन हो।
आइतबार स्वास्थ्य मन्त्रालयमा दुई पक्षबीच भएको वार्तामा विवादित मनमोहन अस्पतालको भौतिक संरचना वीर अस्पतालमा सञ्चालित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले खरिद गर्ने गरी सहमति भएको छ। बिहीबारदेखि भएको वार्ता क्रममा मनमोहनलाई निजी प्रतिष्ठानका रूपमा नभई न्याम्सको विस्तारित इकाईका रूपमा सञ्चालन गर्नेबारे छलफल भएको थियो। यसका लागि सरकारले वीरलाई अनुदान दिने र त्यसैबाट वीरले मनमोहनको पूर्वाधार खरिद गर्ने प्रस्ताव गरिएको थियो। यसबारे सुरुमा सरकारी पक्षले आनाकानी गरे पनि अन्ततः सहमत भएको स्रोत बताउँछ।