Friday, September 15, 2017

अमेरिकाबाट नेपाललाई रु ५० अर्ब सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर

वासिङ्गटन (डिसी), ३० भदौ । अमेरिकी सरकारले नेपालको आर्थिक विकास र गरिबी निवारणका लागि सहयोग गरेको मिलेनियम कर्पोरेट च्यालेन्ज कम्प्याक्ट कार्यक्रमअन्तर्गतको सहयोगसम्बन्धी सम्झौतामा बिहीबार वासिङ्गटन डिसीमा हस्ताक्षर भएको छ । 

सम्झौतामा अमेरिकी सरकारको तर्फबाट एमसिसी च्यालेन्जका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नासा र नेपाल सरकारको तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गर्नुभयो । 

हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दे अमेरिकाका उपविदेशमन्त्री जोन जे सुलिभानले नेपालको आर्थिक विकासको माध्यमबाट न्यून आय भएका जनताको जीवनस्तर उकास्न अमेरिकी सरकारले सहयोग पु¥याउन पाएकोमा खुशी व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो– अमेरिका र नेपालबीच द्विपक्षीय सम्बन्धमा यसले मजबुत सहकार्यको सन्देश दिन सफल भएको छ । साथै, यसले नेपालको आर्थिक वृद्धिमा र संस्थागत संरचनाको मजबुत आधारशीला निर्माण गर्न सहयोग पुग्ने विश्वास लिएको छु । 

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री कार्कीले नेपाल अमेरिकाको सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको घडीमा यो सम्झौता एउटा कोशेढुंगा सावित भएको बताउनुभयो । कार्कीले अगाडि भन्नुभयो यो द्विपक्षीय सम्बन्धको ऐतिहासिक क्षण हो । 

उहाँले नेपालको प्रजातान्त्रिक प्रक्रियामा विस्तारै संस्थागत विकास हुँदै गएको अवस्थामा यो सहयोगलाई पूर्ण प्रतिबद्धताका साथ कार्यान्वयनमा लैजान सरकार कटिबद्ध रहेको बताउनुभयो । 

साथै, अमेरिकी सरकारले नेपालको दिगो विकास र गरिबी निवारणमा गर्र्दै आएको सहयोगका लागि नेपाल सरकारका तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दै मन्त्री कार्कीले सामाजिक आर्थिक रुपान्तरणमा एमसिसी च्यालेन्जको सहयोग महत्वपूर्ण भएको बताउनुभयो । 

कार्यक्रममा एमसिसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत नासाले एमसिसी च्यालेन्जको माध्यमबाट विभिन्न क्षेत्रमा सहयोग गरिएको चर्चा गर्दै दक्षिण एशियाली देशमध्ये नेपालको गरिबी निवारणका लागि यो रकम सहयोग गरिएको बताउनुभयो । उहाँले भन्नुभयो–मलाई विश्वास छ, यसलाई तोकिएको समयमा सम्पन्न गर्न नेपाल सरकारले महत्वपूर्ण भूमिका खेल्नेछ । 

यो कार्यक्रमअन्तर्गत अमेरिकी सरकारले नेपाललाई ५० करोड डलर बराबरको रकम सहयोगस्वरुप उपलब्ध गराउनेछ जसमा नेपाल सरकारले १३ करोड डलर रकमको योगदान गर्नेछ । यसरी ६३ करोड डलरअर्थात् करिब ६३ अर्ब रुपैयाँ बराबरको यो आयोजना पाँच वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ । यसबाट २१३ किलोमिटर विद्युत् ट्रान्समिसन लाइनको निर्माण र सडक विस्तारमा खर्च गरिनेछ । 

डिसीस्थित स्टेट डिपार्टमेन्टको ट्रिटी हलमा आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूत एलिना वी टेप्लीज, अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनबहादुर कार्की, न्यूयोर्कका लागि कन्सुलेट जनरल मधुकुमार मरासिनी, अर्थमन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल, स्टेट डिपार्टमेन्टका अधिकारी, जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेललगायतको उपस्थिति थियो । रासस

चुनाव विथोल्ने गतिविधिमा सलंग्न दुई पक्राउ

गौशाला, ३० भदौ । तेस्रोचरणअन्तर्गत प्रदेश नं २ मा यही असोज २ गते हुने स्थानीय तहको निर्वाचन विथोल्ने गतिविधिमा सलंग्न नेकपा माओवादी (विपल्व) का दुई जना कार्यकर्तालाई प्रहरीले आज पक्राउ गरेको छ । 

पक्राउपर्नेमा महोत्तरीको हात्तीलेटका बाबुलाल लामा र मटिहानीका वशिष्ठ मिश्र रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कठायतले बताउनुभयो । 

लामालाई बर्दिवास र मिश्रलाई मटिहानी नगरपालिका क्षेत्रबाट पक्राउ गरेका छन् । पक्राउ परेका दुबै जनामाथि सार्वजनिक मुद्दा चलाएको र यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको प्रहरी उपरीक्षक कठायतले बताउनुभयो । 
बाढीबाट जोगाउनेले पाउछन्, दलितको भोट 

रातो खोलाको बाढीबाट प्रत्यक्ष मारमापर्ने गरेको जलेश्वर नगरपालिका वडा नम्बर ६, ७ र ८ का सयौंँ दलितले बाढीबाट जोगाउने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् । 

ती वडामा बसोबास गर्ने खत्वे, मुसहर, चमारलगायतका दलितले बाढीबाट जोगाउने उम्मेदवारलाई मतदान गर्ने बताएपछि विभिन्न दलका उम्मेदवार अहिले त्यो बस्तीमा पुगेर मत माग्न सक्रियता देखाउन थालेका छन् । 

जिल्लाको महादेवपट्टी, बखरी, रतवारा, बजराही र धबौली गाउँका सयौं दलित वर्षेनी रातो खोलामा आएको बाढीबाट भौतिक तथा मानवीय क्षति बेहोर्दै आएको छ । 

जलेश्वर नगरपालिकाका प्रमुख पदका उम्मेदवारका लागि मत माग्न बस्तीमा आउने नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, नेपाल फोरम लोकतान्त्रिक, राप्रपालगायतका राजनीतिक दल र विभिन्न स्वतन्त्र उम्मेदवारसँग उनीहरुले एउटै माग राख्दै आएका छन्, बाढीबाट जोगाउने प्रक्रिया अगाडी बढाउने । 

उनीहरुले रातो नदीबाट हुने गरेको धनजनको क्षति रोक्ने, रातो नदीमा पक्की बाँध बनाउने, तटबन्ध बनाउने र रातो नदीलाई जनताको सिँचाइ तथा अन्य किसिमले उपयोगी बनाउन मद्दत गर्ने व्यक्तिलाई मात्रै भोट हाल्ने बताउँछन् । 

गत साउन महिनाको अन्तिमसातामा मात्रै रातो नदीमा आएको बाढीबाट जलेश्वर नगरपालिकामा तीन जनाको मृत्यु भएको थियो । त्यस्तै बाढीबाट करोडौंँको धनमाल र धानखेतीमा क्षति पुगेको हुँदा रातो नदीको बाढीबाट जोगाउनेले मात्रै हाम्रो भोट पाउने उनीहरु बताउँछन् । रासस 

असोज २ गते तराईका आठ जिल्लालाई सार्वजनिक बिदा

काठमाडौँ, ३० भदौ । नेपाल सरकार (मन्त्रिपरिषद्)को यही भदौ २६ गतेको निर्णयानुसार आगामी २ गते तेस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न हुने विभिन्न आठ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । 

मन्त्रालयद्वारा जारी सूचनामा ती जिल्लामा रहेका सरकारी तथा अर्धसरकारी कार्यालय र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ । 

तराईका आठ जिल्ला सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन सम्पन्न हुन गइरहेको छ । रासस 

कर्मचारी समायोजन विधेयक मंगलबार पेश हुने

काठमाडौँ, ३० भदौ । सरकारले आउँदो असोज ३ गते व्यवस्थापिका–संसद्मा कर्मचारी समायोजन विधेयक पेश गर्ने भएको छ । 

आज सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकले कर्मचारी समायोजन विधेयक आगामी असोज ३ गते पेश गर्ने निर्णय गरेको समितिका सभापति दिलबहादुर घर्तीले जानकारी गराउनुभयो । उहाँले समायोजन ऐन नबन्दा कर्मचारी खटनपटनमा समस्या भएकाले चाँडै ल्याउन लागिएको बताउनुभयो । 

बैठकमा समिति सदस्य रामेश्वर फुयाँलले कर्मचारी समायोजनपछि मात्र प्रदेश र स्थानीय तहको सरकार बन्ने भएकाले सबै काम सकेर पेश गरिने बताउनुभयो । 

बैठकमा समिति सदस्य रेखा शर्माले समायोजन ऐन ल्याएपछि प्रदेश र स्थानीय तहमा थप कर्मचारी ल्याउनका लागि विधेयक बनाउन मद्दत मिल्ने बताउनुभयो । 

समितिले सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत, सचिव मोहन सापकोटासँग आवश्यक परामर्श गरी विधेयकमा रहेका कुरा टुङ्ग्याउनेसमेत निर्णय गरेको छ । 

नयाँ संघीय संरचनाअनुसार सरकारले निजामती कर्मचारीलाई केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने भएको छ । 

सामान्य प्रशासन मन्त्रालयले विधेयक बनाई समितिमा पेश गरेको छ । रासस 

महोत्तरीका पाँच महिला स्थानीय तहका शीर्षपदमा प्रतिस्पर्धा गर्दै

महोत्तरी, ३० भदौ । स्थानीय तहको निर्वाचनका लागि प्रमुख पदमा महोत्तरीबाट पाँचजना महिला प्रतिस्पर्धामा उत्रेका छन् । 

आगामी असोज २ गते हुने निर्वाचनका लागि नेकपा (एमाले)ले सम्सी गाउँपालिकाको प्रमुख पदमा मीनाक्षीकुमारी साह, संघीय समाजवादी फोरम नेपालले गौशाला नगरपालिकामा रामकुमारीदेवी महतो, बहुजन शक्ति पार्टीले गौशाला नगरपालिकाको प्रमुखको लागि फूलकुमारी सहनीलाई प्रमुख पदका लागि चुनावी मैदानमा उतारेका छन् । 

त्यस्तै, एकडारा गाउँपालिका प्रमुखमा सीतादेवी र औरही नगरपालिकामा बहुजन शक्ति पार्टीबाट तारादेवीले उम्मेदवारी दिएका छन् । यिनीहरु सबै मधेशी मूलका उम्मेदवार रहेका छन् भने जिल्लाको उत्तरवर्ती क्षेत्रबाट कुनै पनि महिला स्थानीय तहको नेतृत्वका लागि अगाडि बढ्न सकेका छैनन् । 

जिल्लामा रहेका अन्य दलले चुनावी एजेण्डामा महिलालाई समानुपातिक एवं समावेशीको नारा दिएर चुनावी एजेण्डा बनाएता पनि व्यवहारमा उतार्न सकेका छैनन् । 

जिल्लामा रहेको नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राजपा नेपाललगायतका दलहरुले महिलालाई उपप्रमुख या उपाध्यक्षमा सीमित पारेका छन् । पछिल्लो समयमा चुनाव खर्चिलो भएको भन्दै आर्थिक स्थिति कमजोर भएका महिला, दलित, जनजाति समुदायका महिला हारिने डरले चुनावी मैदानमा आउन नसकेको एमाले नेत्री दुर्गा दाहाल बताउनुहुन्छ । 

हामीलाई अवसर नदिने तर महिलालाई होच्याउने कारणले यहाँका महिला अगाडि बढ्न नसकेको पूर्व सांसद एवं माओवादी विचारधाराकी नेत्री बुधनीदेवी महतोले बताउनुभयो । 

देशका उच्च तहमा महिलाले कार्यभार सञ्चालनमा सफलता हासिल गरेको भन्दै अब हरेक महिलालाई व्यवहारमा लागू गरेमात्र देशमा समावेशीताको नारा यथार्थमा परिणत हुने महतोले धारणा राख्नुभयो । 

पितृवादी सोचाइका कारण हाम्रो समुदायमा महिलालाई अगाडि बढ्नका लागि आफ्ना सहकर्मीले नै अगाडि बढ्नबाट रोक लगाउँदै आएको माओवादी केन्द्रकी नेत्री शशीकला दाहालले प्रतिक्रिया दिनुभयो । घर राम्ररी चलाउन जान्ने महिलाले स्थानीय तह पनि सञ्चालन गर्नमा कुनै पनि कसर बाँकी नछाड्ने स्थानीय नरेन्द्र महतोले बताउनुभयो । 

महिलालाई अवसरको खाँचो छ, अवसर पाए मधेशी समुदायका महिला जे पनि गर्न सक्ने यथार्थ रहेको अनेक उदाहरण दिँदै महतोले भन्नुभयो, हरेक निकायमा महिला नेतृत्व आवश्यक रहेको छ । रासस 

Thursday, September 14, 2017

आयोगद्वारा पत्रकारसम्मेलन आयोजना

जनकपुरधाम, ३० भदौ । धनुषा, सिरहा, सप्तरी र महोत्तरी जिल्लामा राजनीतिक दलहरूले निर्वाचन प्रसारप्रसारमा बालबालिकाको प्रयोग गरिरहेको राष्ट्रिय मानवअधिकार आयोग निर्वाचन अनुगमन टोलीले जनाएको छ । 

आयोगद्वारा जनकपुरधाममा आज आयोजित पत्रकारसम्मेलनमा आयोगका सदस्य सुदीप पाठकले प्रसारप्रसारका क्रममा तुल, ब्यानर, टोपी, भेस्ट र ठूलो आवाजमा लाउडस्पिकरको प्रयोग गरिएको पाइएको बताउनुभयो । 

अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती महिला र अशक्त मतदातालाई कसरी मतदान स्थलसम्म सजिलो तरिकाबाट मतदान गराउनेबारे अन्योलमा रहेको र कतिपय मतदान केन्द्रहरू खोला तरेर जानु पर्ने भएकाले पानी परेमा वैकल्पिक व्यवस्था मिलाइएको पाइएन भनी विज्ञप्तिमा उल्लेख छ । 

मतदाता शिक्षा प्रभावकारी नभएको, केही जिल्लाका मतदान केन्द्रहरू खुल्ला चौरमा रूखमुनि भएको र हालै आएको बाढीले बाटोहरू बिग्रिएको अवस्थामा रहेकोतर्फ ध्यानाकर्षण गराइएको छ । 

विज्ञप्तिमा उम्मेदवारले प्रसारप्रसारका क्रममा भारतीय नम्बरप्लेटका गाडी व्यापकरूपमा प्रयोग गरेको र केही मतदान केन्द्रमा अझ पनि हिलो र सप्तरीको राष्ट्रिय प्राथमिक विद्यालयको मतदान केन्द्रमा तीन फिटसम्म पानी जमेको पाइएको उल्लेख गरिएको छ । 

स्थानीय प्रशासनले शान्ति सुरक्षाका लागि केही जिल्लामा मानिसलाई नियन्त्रणमा लिएको र आममतदातामा निर्वाचनप्रति उत्साहपूर्ण सहभागिताका लागि प्रतीक्षारत रहेको पाइएको पनि जानकारी गराइएको छ । 

सदस्य पाठकले सबै जिल्लामा शान्ति सुरक्षाको भरपर्दो व्यवस्था गरिएको जानकारी सुरक्षा निकायबाट गराइएको पनि बताउनुभयो । रासस

Tuesday, September 12, 2017

विमानस्थल सञ्चालनमा नआउँदा पर्यटन व्यवसायी मारमा

कञ्चनपुर, २७ भदौ । दुई दशकदेखि बन्द रहेको मझगाउँ विमानस्थल सञ्चालनमा आउन नसक्दा यस क्षेत्रका पर्यटन व्यवसायी मारमा परेका छन् । 

विमानस्थल सुचारु नहुँदा यहाँका महत्वपूर्ण पर्यटकीयस्थल ओझेलमा परेका छन् । हवाईसेवा बन्द हुँदा यहाँ विदेशी पर्यटक आउन सकेका छैनन् । करोडौँ रुपैयाँ खर्चिएर निर्माण गरेको विमानस्थलका भौतिक संरचना जीर्ण भएका छन् । 

हवाईमैदान स्थानीय बासिन्दाको गाईगोरु चराउने क्षेत्र बनेको छ । पर्यटन व्यवसाय प्रवद्र्धनका लागि हवाईसेवा महत्वपूर्ण भएकाले विमानस्थल सुचारु गर्न पटकपटक आग्रह गर्दा पनि सरकारले सुनवाइ नगरेको पर्यटन व्यवसायी परमानन्द भण्डारी बताउनुहुन्छ । हवाईसेवा नहुँदा यहाँका पर्यटन व्यवसायीले लगानी गर्न नसकेका उहाँको भनाइ छ । 

“हवाईसेवा नहुँदा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, सिद्धबाबा, झिलमिला, बेदकोट ताल, विष्णु मन्दिरलगायतका पर्यटकीय क्षेत्र ओझेलमा परेका छन्” उहाँले भन्नुभयो । हवाई यातायातको व्यवस्था नहुँदा यहाँ घुम्न आउने पर्यटकको संख्या नगन्य मात्रामा रहने गरेको छ । 

पर्यटन व्यवसाय प्रवद्र्धनका लागि हवाई यातायात महत्वपूर्ण भएकाले बन्द विमानस्थल सुचारु गर्न सम्बन्धित निकायले चासो राख्नुपर्नेमा यहाँका पर्यटन व्यवसायीले जोड दिएका छन् । विसं २०२५ मा निर्माण गरिएको सो विमानस्थल २०५५ सालदेखि बन्द छ । 

लालझाडीका बासिन्दा बैलगाडामा यात्रा गर्दै 

राना थारु समुदायको बाहुल्यता रहेको लालझाडी गाउँपालिकाका बासिन्दा आधारभूत सेवा सुविधाबाट वञ्चित छन् । तीनतिर घनाजंगल र अर्कोतर्फ दोदा नदीले घेरिएको सो गाउँपालिकाका बासिन्दा सडक, नदीमा पक्कीपुल, भरपर्दो स्वास्थ्य सेवा र शिक्षाबाट वञ्चित छन् । 

उक्त गाउँपालिकाको शंकरपुर, बल्मी, कञ्जकसवा, बिनावारी, नैरङगा, बाइसेवीचुवा, पर्सिया, ढुंगा गाउँमा राना थारु समुदायको बसोबास छ । सडकको भरपर्दो व्यवस्था नहुँदा यहाँका बासिन्दा परम्परागत बैलगाडा, राँगागाडा र साइकल चढेर यात्रा गर्नुपर्ने बाध्यता छ । 

दोदा नदीको बाढीले वर्षेनी जग्गा कटान गर्दैआएको छ । सडक र नदीमा पुल नहुँदा उत्पादन भएको तरकारी, अन्नबालीलगायत कृषिजन्य वस्तु बजारसम्म ढुवानी गर्न समस्या हुने गरेको छ । बजारसम्म उत्पादित कृषिजन्य वस्तु पु¥याउन नसक्दा यहाँका बासिन्दा व्यावसायिक बन्न नसकेका शंकरपुरका भज्जी राना बताउनुहुन्छ । 

“पुर्खौंदेखिको समस्या हो, अझै पनि यस्तै अवस्था छ,” उहाँले भन्नुभयो । गाउँपालिका क्षेत्रमा रहेका स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीसँगै औषधि अभाव छ । गम्भीर बिरामी हुँदा टाढाको अस्पतालसम्म बिरामीलाई लैजान एम्बुलेन्सको अभाव रहेको स्थानीयवासी रामकली रानाले बताउनुभयो । सडकको बिग्रँदो अवस्थाका कारण अन्य क्षेत्रबाट एम्बुलेन्स ल्याउन सकिने अवस्था नुहँदा बिरामीलाई बैलगाडा, राँगागाडा र साइकलमा बोकेर अस्पताल पु¥याउनु पर्ने बाध्यता छ । 

“उपचारका लागि अस्पताल लैजान ढिला हुँदा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ,” नन्दगाउँकी सावित्री रानाले भन्नुभयो । सरकारी उदाशिनताका कारण गाउँको एकीकृत विकास नभएको उहाँको भनाइ छ । राना थारु समुदाय संस्कृति र सीपका क्षेत्रमा धनी भए पनि यसको व्यवसायीकरण हुन सकेको राना बताउनुहुन्छ । 

गाउँपालिकाका प्रमुख मदनसेन बडायकले अन्य स्थानीय तहभन्दा लालझाडीमा समस्या नै समस्या रहेको बताउनुभयो । दोदा नदीको दुई ठाउँमा पक्की पुल, एम्बुलेन्स खरिद र हरेक वडामा सडक सुधारका लागि रु एक करोडका दरले बजेटको व्यस्था मिलाइएको उहाँले बताउनुभयो । रासस